बर्लिन । अमेरिकाले जर्मनीलाई लामो दूरीको टोमाहक क्रुज मिसाइल बिक्रीको अनुमति दिएको जर्मन चान्सलर फ्रेडरिक मर्जले बताएका छन् । यसअघि अमेरिकाले जर्मनीलाई टोमाहक दिने वा नदिने बिषयमा केही आशङ्का थियो ।
“अङ्कारामा भएको नाटो बैठकको अवसरमा हामीले अमेरिकी सरकारसँग सहमति गरेका छौँ । हामीले अमेरिकी टोमाहक मिसाइल किन्नेछौँ र जर्मनीमा तैनाथ गर्नेछौँ,’ मर्जले संसद्मा गरेको सम्बोधनमा भने ।
उनले भने,“यो कदमले ‘हाम्रो रक्षामा महत्वपूर्ण रणनीतिक खालीपन पूर्ति हुनेछ । आवश्यकता अनुसार हामी आफ्नै युरोपेली प्रणाली विकास गर्न त्यसलाई युरोपमा तैनाथ गर्न काम गर्नेछौँ।” मर्जले टोमाहक कहिले आपूर्ति हुन्छ भन्ने बारे केही बताएनन् ।
टोमाहक मुख्य रूपमा पनडुब्बी र युद्धपोतबाट प्रक्षेपण गरिन्छन् र एक हजार ६०० किलोमिटरभन्दा बढीको दूरीसम्म पुग्न सक्छन् ।
जर्मन सरकारका स्रोतका अनुसार दुवै देशका रक्षा मन्त्रीहरूले मङ्गलबार टोमाहक मिसाइल सम्झौताका लागि ‘लेटर अफ इन्टेन्ट’ मा हस्ताक्षर गरेका थिए । यसअघि मर्ज र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उच्च सुरक्षा अधिकारीहरूबीच टोमाहकबारे वार्ता भएको थियो।
सम्झौतामा अमेरिकाले अगस्टसम्म टोमाहक मिसाइल र जमिनबाट मार हान्ने ‘टाइफुन लन्चर’ बिक्रीको औपचारिक अनुमति दिने प्रतिबद्धता गरेको छ । तर कति मिसाइल किन्ने भन्ने सङ्ख्या गोप्य राखिनेछ।
बर्लिनले अमेरिकी टोमाहकजस्तै लामो दूरीका क्रुज मिसाइलको तैनाथीलाई रुसविरुद्धको आफ्नो प्रतिरोध रणनीतिको मुख्य भाग मान्छ ।
