भीमार्जुन आचार्यको प्रश्नः यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ?

काठमाडौँ । संविधानविद डा. भीमार्जुन आचार्यले काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका गणेश नेपालीले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको घटनालाई महानगरको बर्बरता भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत आचार्यले महानगर भित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताडित बन्ने गरेका बताएका हुन् । उनले के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘काठमाडौँ महानगर प्रहरीको ह्वीललक आतंकका कारण मुगुका एकजना असहाय युवकको कारूणिक अवस्थाको समाचार बाहिर आयो । महानगर भित्र सवारी साधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताडित बन्ने गरेका छन् । के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? कतै त सवारी साधन एकछिन ठडाउनै पर्ने हुन्छ । के त्यसलाई आपराधिककरण गर्नेपर्छ ? के यो नगरमा सामान्य मान्छे बस्नै नपाउने हो ?’

मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै बाइकबाट पेट्रोल निकालेर शरीरमा खन्याइ आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । उनको बाइकमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद भएको थियो ।

राइड सेयरिङको काम गरिरहेका गणेश महानगर प्रहरीले पटक पटक दुःख दिने गुनासो गर्र्दै आएका थिए । नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको ७० प्रतिशत जलन रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *