काठमाडौँ । पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा बहाल अधिकारीले निजी जीवन र सार्वजनिक जीवन छट्याउन नसके भ्रष्टाचार र कुशासनको प्रारम्भ ठ्याक्क त्यही विन्दुबाट हुने बताएका छन् । सामाजिक संजालमार्फत खनालले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘शक्तिशाली सार्वजनिक पदमा बहाल अधिकारीले निजी जीवन र सार्वजनिक जीवन छट्याउन सकेनन् भने— भ्रष्टाचार र कुशासनको प्रारम्भ ठ्याक्क त्यही विन्दुबाट हुन्छ । निवासमा भेट्न आउने व्यक्तिले पहिला पत्नी वा पतिको भरपूर तरिफ गर्छ। ‘म्याडम,’ ‘साहेबनी,’ ‘मन्त्रिणीज्यू,’ ‘श्रीमान’ वा ‘हजुर’ — मौका र व्यक्ति हेरी सम्बोधन गर्दै गुणगान गाउँछ। घरमा केटकेटी भए सुरुमा चकलेट, र बिस्तारै महँगा उपहार ल्याउन थाल्छ। पाल्तु जनावर भए, ट्रीट लिएर आउछ र त्यो पप्पीको समत प्रिय बन्छ।’
उनले जेनजी विद्रोहअघिको हाम्रो शासकीय संयन्त्रमा रहेको रोग ठ्याक्कै यही रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘घरका सबैको प्रिय भइसकेपछि, आफ्नो वञ्छित–अवाञ्छित चाहना ती शक्तिसम्पन्न अधिकारीबाट पूरा गराउन उसलाई कुनै गाह्रो पर्दैन। र उसले आफ्नो प्रभावक्षेत्र यसरी विस्तार गर्दै लैजान्छ कि सम्बन्धित निकायका तल्ला निर्णायक अधिकारीहरूलाई समेत, मानौ ऊ स्वयं नै मुख्य अधिकारी हो जस्तो गरी खटनपटन गर्न थाल्छ । जेनजी विद्रोहअघिको हाम्रो शासकीय संयन्त्रमा रहेको रोग ठ्याक्कै यही थियो !’
