गोरखा । पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ । गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन् ।
समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा अवस्थित बारपाकमा उच्च हावापानीका कारण धान खेती गर्ने चलन छैन । यहाँ खेतभन्दा पाखाबारी बढी भएकाले मौसमअनुसार कोदो, मकै, गहुँ, जौ र आलु खेती गरिन्छ । बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेका अनुसार असार लागेसँगै माथिल्लो भेगका बारीमा कोदो रोप्न सुरु हुन्छ भने तल्लो भेगका बारीमा साउनको दोस्रो सातासम्म रोपाइँ जारी रहन्छ ।
उहाँका अनुसार गाउँको दायाँ र बायाँ रहेका ठूला फाँटमा बाली चक्रअनुसार एक वर्ष कोदो र अर्को वर्ष मकै खेती गरिन्छ । एउटातर्फ कोदो लगाइएका बेला अर्कोतर्फ मकै खेती गरिने र अर्को वर्ष त्यसलाई उल्ट्याइने प्रचलन छ । ती बारीमा वर्षमा दुईवटा बाली मात्र उत्पादन हुने उनले बताए ।
बारपाक गाउँका करिब एक हजार दुई सय घरधुरी वडा नं. १ र २ मा फैलिएर रहेका छन् । वडा नं. २ का अध्यक्ष पूर्ण गुरुङका अनुसार अधिकांश किसानले अझै पनि अर्मपर्मको परम्परा कायम राख्दै सामूहिक रूपमा कोदो रोप्ने गर्छन् । अहिले पनि केही स्थानमा ज्यालादारी श्रमिक प्रयोग गरिए पनि अधिकांश किसान परम्परागत अर्मपर्ममै निर्भर छन् ।
कोदो रोपाइँसँगै गाउँमा विशेष लोकगीत पनि गुञ्जिने गरेको उहाँले बताउनुभयो । खेतालाहरू गीत गाउँदै, नाच्दै उत्सवमय वातावरणमा कोदो रोप्ने परम्पराले बारपाकको सांस्कृतिक पहिचानलाई जीवन्त बनाइरहेको उनको भनाइ छ ।
बारपाकमा हिउँदयाममा गहुँ र जौ तथा वर्षायाममा मकै र कोदो मुख्य बालीका रूपमा लगाइन्छ । वडाध्यक्ष घलेका अनुसार माघ-फागुनमा रोपिएको मकै साउन-भदौमा भित्र्याइन्छ । त्यसपछि असोजमा गहुँ र जौ रोपेर वैशाख–जेठमा भित्र्याइन्छ भने त्यसपछि पुनः कोदो रोपेर मङ्सिरमा भित्र्याउने गरिन्छ । यसरी बाली चक्र मिलाएर खेती गर्ने परम्परा यहाँ अझै कायम छ ।
बारपाकमा उत्पादन हुने कोदो मुख्य रूपमा ढिँडो बनाउन प्रयोग गरिन्छ । साथै जाँड, रक्सी, रोटी तथा स्थानीय परिकार ‘आलुम’ बनाउन पनि यसको प्रयोग हुने वडाध्यक्ष गुरुङले बताए । पछिल्लो समय गाउँमा चामलको प्रयोग बढे पनि अधिकांश स्थानीयको मुख्य परिकार अझै पनि ढिँडो नै रहेको उनले बताए ।
