एमाले अहिले कठिनाइमा छ, तर उठेर अघि बढ्छौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले चुनौतीपूर्ण परिस्थितिमा रहेको स्वीकार गर्दै त्यसबाट माथि उठेर प्रतिवाद र प्रतिरोध गर्ने बताएका छन् ।

नेकपा एमालेको पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कठिनाइ जीवनको स्वाभाविक हिस्सा भएको उल्लेख गरे । उनले निर्जीव वस्तुलाई कहिल्यै कठिनाइ नपर्ने भन्दै जीवित र सक्रिय शक्तिले मात्रै चुनौतीको सामना गर्नुपर्ने बताए ।

उनले भने, “हामी अहिले कठिनाइमा छौं। कठिनाइ जीवनमा आइपर्ने स्वाभाविक अवस्था हो। निर्जीव तत्वलाई कहिल्यै कठिनाइ पर्दैन। हाम्रो पार्टी कठिनाइमा परेको छ भने हामी जीवित छौं भन्ने प्रमाण हो। हामीले धक्का खाएका छौं, पछारिएका पनि हुन सक्छौं। तर हामी उठ्छौं, प्रतिवाद गर्छौं र आवश्यक परे प्रतिरोध पनि गर्छौं ।”

अध्यक्ष ओलीले आफ्नो पार्टीमाथि विगतमा पटक–पटक आक्रमण भएको दाबी गर्दै यसपटक सबैभन्दा ठूलो गठबन्धन बनाएर एमालेलाई कमजोर पार्ने प्रयास गरिएको आरोप लगाए ।

उनले भने, “यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा भयानक हमला भयो। सबैभन्दा ठूलो गठजोडका साथ हमला गरियो ।”

ओलीले एमालेले देशको विकास र प्रगतिको अभियान अघि बढाउन खोजेकै कारण पार्टीलाई निशाना बनाइएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *