काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा हतार नगर्न सरकारलाई सुझाव दिएका छन् ।
संविधान संशोधनसम्बन्धी विषयमा शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष यादवले नेपाली जनताको दशकौँ लामो जनसंघर्ष, जनआन्दोलन, सशस्त्र संघर्ष, ऐतिहासिक मधेश जनविद्रोह तथा त्याग र बलिदानको जगमा संविधानसभाबाट जारी भएको नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई राज्यको मूल संरचनाका रूपमा स्थापित गरेको बताएका हुन् ।
उनले संविधान संशोधनका नाममा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र लोकतन्त्रजस्ता संविधानका आधारभूत विशेषतालाई कमजोर बनाउने प्रयास भए प्रतिरोध हुने चेतावनी दिएका छन् । उनले यसले मुलुक जातीय तथा क्षेत्रीय द्वन्द्व तथा अशान्तितर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् ।
अध्यक्ष यादवले संविधानको मूल चरित्रलाई नष्ट गर्ने नभई संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नका लागि मात्र संविधान संशोधन हुनुपर्ने बताए ।


