काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई महोत्तरीको गौशालाबाट बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पन्चलाल गोलेले जानकारी दिएका छन् ।
असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्षको कैद सजाय सुनाएको थियो ।
यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाइ दिने फैसला गरेको थियो । त्यसैगरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएका शर्मा, राय, मिश्र र पाण्डेको हकमा जिल्ला अदालतको फैसला उल्ट्याएर ५ वर्षमात्रै कैद सजाय हुने फैसला उच्च अदालतले गरेको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो ।
