पाकिस्तान । पाकिस्तानको लाहोरमा निर्माणाधीन भवनको छत भत्किँदा १४ बालबालिकाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
मंगलबार लाहोरको कहना नौ क्षेत्रमा निर्माणाधीन भवनभित्र सञ्चालन भइरहेको निजी ट्युसन केन्द्रमा कक्षा चलिरहेका बेला छत अचानक भत्किएको थियो । त्यसबेला ७ देखि १३ वर्ष उमेरका ३० भन्दा बढी बालबालिका कक्षामा उपस्थित रहेका थिए । छत भत्किएपछि उनीहरू भग्नावशेषमा पुरिएका थिए ।
उद्धार टोलीले धेरै घण्टासम्म खोज तथा उद्धार अभियान सञ्चालन गरी बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेको थियो । मृत्यु हुनेमध्ये सात जना बालिका र सात जना बालक रहेका छन् ।
घाइते सबैलाई लाहोर जनरल अस्पतालमा भर्ना गरिएको छ र उपचारलाई प्रभावकारी बनाउन पञ्जाब प्रान्तीय सरकारले अस्पतालमा आपतकालीन अवस्था घोषणा गर्दै अतिरिक्त चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरेको जियो न्यूजले उल्लेख गरको छ ।
