जर्मनी । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनामा सङ्गलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोलीकाण्डमा पाँच जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले पनि सामान्य चोटपटक भोगेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र हाल सर्वसाधारणका लागि कुनै सुरक्षा जोखिम नरहेको जनाइएको छ ।
घटनापछि ह्याम्बर्गबाट करिब ५० किलोमिटर पश्चिममा रहेको स्टेड सहरमा ठूलो सङ्ख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको थियो । स्थानीय सञ्चारमाध्यमले घटनास्थल वरपर हेलिकप्टरसमेत परिचालन गरिएको जनाएका छन् ।
प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन र सुरक्षाका लागि सम्बन्धित क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।
जर्मनीमा युरोपकै कडा बन्दुक नियन्त्रण कानुन लागू छ । २५ वर्षभन्दा कम उमेरका व्यक्तिले बन्दुकको अनुमतिपत्र लिनुअघि अनिवार्य रूपमा मनोवैज्ञानिक परीक्षण उत्तीर्ण गर्नुपर्छ । त्यसका बाबजुद समय–समयमा यस्ता सामूहिक गोलीकाण्डका घटना हुने गरेका छन् ।
फेब्रुअरी २०२० मा मध्यजर्मनीको हानाउ सहरमा एक अतिदक्षिणपन्थी आक्रमणकारीले नौ जनाको गोली हानी हत्या गरेको थियो । त्यसैगरी मार्च २०२३ मा ह्याम्बर्गमा यहोवाका साक्षीको प्रार्थना सभामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको थियो ।
