भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

गोरखा । गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किएनन् । भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुन्, न अन्तिम । उनको कथाले उत्तरी गोरखाको भेडा गोठालाको जीवन कति जोखिमपूर्ण छ भन्ने सवाल उजागर गरेको छ ।

समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिको लेक, खर्कको बसाई, बेलाबेला खस्ने सुख्खा पहिरो तथा बाटोमा ढुङ्गा खस्ने समस्या, भौगोलिक कठिनाइ पनि उस्तै छ । जनशक्ति पलायनजस्ता समस्याले भेडागोठालाको जीवन झनै कष्टपूर्ण बन्दै गएको गोठालाहरुको गुनासो छ ।

यतिबेला उत्तरी गोरखाका भेडागोठालाहरु लेकतिर गोठ लैजाँदैछन् । उँधौलीका बेला गोरखाको आरुघाट, धादिङको बसेरी, सल्यानटार तथा लमजुङको बाहुनडाँडा, विचौरसम्म फैलिएका उत्तरी गोरखाका गोठहरु उँभौली लागेपछि फेरि विस्तारै लेकतर्फ लैजाँदै गरेका हुन् ।

पाङसिङ गोरखाको सबैभन्दा धेरै भेडापालन गर्ने गाउँ हो । त्यसैले यो भेडा गोठालाहरुको गाउँका रुपमा पनि चिनिन्छ । करिब १५० घरधुरी रहेको पाङसिङमा ७० घरधुरीका बासिन्दा भेडापालनमा संलग्न छन् । पाङसिङको भेडीगोठ अहिले गाउँको माथिल्लो लेकमा रहेको त्यहाँका भेडागोठाला रोहन गुरुङ बताउँछन‍् ।

भेडीगोठमै जन्मे हुर्केका उनीसँग अहिले करिब तीन सय भेडा छन् । ‘‘एक महिना जति भयो यता आ’को, अहिलेसम्म गाउँ आसपासको लेकतिर छौं । विस्तारै अझै माथिल्लो लेकहरुमा जान्छौँ,’’ उनले भने, ‘‘अब विस्तारै–विस्तारै गाउँबाट दुई–दिनको बाटो टाढाको लेक, बुद्ध हिमालको फेदतिर पुग्छाैं ।’’ गाउँका कैयौं गोठाला युवा साथीहरु वैदेशिक रोजगारीमा गए पनि आफू भने भेडीगोठमै रमाएको उनी सुनाउँछन् ।

पाङसिङका रोहनजस्ता भेडागोठालाहरु हिउँदका दिनमा भेडा चराउँदै धादिङको बसेरी र लमजुङको विचौर हुँदै बाहुनडाँडासम्म पुग्छन् । बर्खामा हिमालका फेदहरुका पाटनमा बस्छन् । ‘‘ठ्याक्कै यही ठाउँ जाने भन्ने हुन्न । हाम्रो जीवन त घुमन्तेको जस्तो पो छ,’’ उनी भन्छन‍्, ‘‘हिँड्दै, हेर्दै, आफूलाई जता जाँदा ठीक लाग्छ, सजिलो लाग्छ त्यतै जाने हो ।’’ समुद्री सतहदेखि ३५ सयदेखि चार हजार मिटरसम्म अग्ला लेक, खर्क, पाटनमा जाने गरेको रोहनले सुनाए । बर्खा सुरु भएसँगै माथिल्लो लेक जाने उनीहरु दसैंं लागेपछि मात्र गाउँ आसपासमा झर्ने गर्छन् । ‘‘त्यतिबेला कोदो, मकैका बारीहरु खाली हुन्छ । त्यहाँ भेडा ल्याएर राख्न पाइन्छ,’’ उनले भने ।

भेडागोठालाको जीवन त्यति सजिलो छैन । सास्ती पनि उस्तै, खर्चिलो पनि उत्तिकै छ । सरकारी बेवास्ताको कुरा त अझ परको कुरा । ‘‘लेकको कथाब्यथा छुट्टै छ तर गाह्रो त बेंसी झर्दा हुन्छ,’’ रोहन भन्छन्, ‘‘हिउँद्मा बेंसीमा घाँस पाउँदैन । हामी गोरखाको भेडा धादिङको बेंसी लैजाँदा त्यहाँ गाउँलेलाई चरनको पैसा तिर्नुपर्छ । लमजुङमा चाहिँ तिर्नु पर्दैन । त्यसैले धेरैको गोठ त्यहीँ थुप्रिन्छ । पछि–पछि त्यहाँ पनि घाँसको अभाव हुन्छ । मैले आफैँले धादिङको बेंसीमा बर्सेनि घाँसका लागि ४० देखि ४५ हजार रुपैयाँ तिरेर भेडा लैजान्छु ।’’

भेडापालन गाहे काम भए पनि जसोतसो गुजारा भने चलिरहेको उहाँ बताउनुहुन्छ । रोहनले एक वर्षमा २० देखि २५ वटा भेडा बिक्री गरेर तीनदेखि चार लाख रुपैयाँ आम्दानी हुन्छ । ‘‘आफ्नो मिहिनेत र खर्चको त के कुरा भो र ! तीन लाखको बेचियो, चार लाखको बेचियो भन्ने मात्र हो’’, उनी भन्छन् । सँगै जन्मे हुर्केका साथी विदेसिन्छन्, महिनाकै लाख कमाउँछन् तर यहाँ वर्षदिन कुरेर तीन–चार लाख हात पर्छ ।

पाङसिङका अर्का भेडा गोठाला माइला गुरुङका अनुसार आजभोलि भेडापालनमा युवाहरुको मोह घट्दो छ । भेडा लेकबेंसी गर्न पनि चुनौती थपिएको उनले बताए । गोठालाको जीवन अरुले देखेको, सोचेको भन्दा धेरै कठिन हुने गरेको माइलाको अनुभव छ । ‘‘पहिलाभन्दा आजभोलि लेकबेंसी गर्न गाहे छ,’’ उनी भन्छन्, ‘‘धेरै ठाउँमा पहिरो जान्छ । बेला–कुबेला ढुङ्गा खस्दा गोठाला र भेडालाई जोखिम छ, भीरबाट खसेर, पहिरोमा परेर पनि थुप्रै भेडाहरु मर्छन् ।’’

अर्को मुख्य समस्या चरन क्षेत्रको अभाव हो । जलवायु परिवर्तनका कारण आजभोलि पहिले जस्तो घाँस पाउन छोडेको गोठालाहरु बताउँछन् । नयाँ विषालु झारहरु उम्रन थालेको उनीहरुको गुनासो छ । त्यस्तो घाँस खाएर पनि भेडा मरेका छन् ।

राम्रो घाँस खोज्दै उनीहरु टाढा, टाढा पुग्नुपर्ने बाध्यता छ । माथिल्लो लेक, खर्क र पाटनहरुमा घाँस पलाउन छाडेको माइलाको भनाइ छ । यस्तै भेडाहरुमा नयाँ रोग र प्रकोपहरु देखा पर्न थालेको उनको दुःखेसो छ । घाँसको कमी र बढ्दो नयाँ–नयाँ रोगका कारण भेडाहरुको तौल घट्ने, प्रजनन् क्षमता कमजोर हुने र उनीहरुबाट उत्पादन हुने ऊनको गुणस्तर तथा परिमाण दुवैमा गिरावट आएको उनले सुनाए ।

भेडा व्यवसायमा जलवायु परिवर्तनको प्रत्यक्ष असर छ । यसका कारण रैथाने हिमाली भेडापालन व्यवसाय सङ्कटमा परेको छ र धेरै गोठालाहरुले यो पेसा नै छाड्न थालेका छन् । जलवायु परिवर्तनले भेडागोठालाहरुको लेकबेंसी गर्ने तालिका पनि प्रभावित भएको छ । पहिले वैशाख पूर्णिमापछि मात्र गाउँ भित्रने भेँडीगोठ आजभोलि फागुनमै उकालो लाग्ने गरेको माइलाको अनुभव छ । ‘‘बेंसी झार्दा पनि अब कताको बेंसी जाने भन्ने हिसाबले झारिन्छ । आजभोलि जाडोमा धेरै जाडो अनि गर्मीमा धेरै गर्मी हुन थालेको छ,’’ उनले भने ।

भेडा गोठालाहरु चार–पाँच जनाको समूह बनाएर, भेडीगोठमा बस्ने गर्छन् । आलोपालो गर्दै गाउँ झर्ने, लेक चढ्ने चलन छ । उनीहरु भेडीगोठ बस्दा आवश्यक पर्ने खाद्य सामग्रीहरु बोकेरै लैजान्छन् । बेलाबखतमा गाउँबाट परिवारले आवश्यक खाद्य सामग्रीहरु लैजाने भेडा गोठालाहरु बताउँछन् । ‘‘भेडाको दूध, दही, घिउ, लेकमा पाउने जडिबुटी, माछा, मासु खाएर गुजारा चलाउँछौँ । लेकको त संसारै छुट्टै हुन्छ । तलतिर के भयो केही थाहा पनि हुन्न । वास्ता पनि हुन्न’’, भेडा गोठाला रोहन गुरुङले भने ।

हिमालपारिको चुमनुब्री गाउँपालिका–३ पाङसिङ, ठूलो फिलिम, सानो फिलिम, पाती, देवल, आँगा, सस्र्यूँ, सिर्दिबास, न्याक, घट्टेखोला, नाग्चेतलगायत क्षेत्रका किसानले भेडाबाख्रा पालन गरेका त्यहाँका वडाध्यक्ष रामकुमार गुरुङ बताउँछन् ।

‘‘कात्तिकतिर बेंसी झारेका भेडाबाख्रा वैशाख लागेपछि लेकको पाटन भरिभराउ भएका छन्,’’ उनी भन्‍छन्, ‘‘हरेक वर्ष हिउँद लागेपछि लेकका भेडाबाख्रा खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झार्ने गर्छन् । कोही गोठालाले आर्खेत, आरुघाट, मान्बु हुँदै धादिङको बसेरी, सल्यानटारसम्म झार्ने गर्छन् ।’’ चैत–वैशाख लागेपछि पुनः लेक लैजाने चलन रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

जिल्लाको चुमनुब्री गाउँपालिकामा २० हजार ९८५ भेडाहरु छन् । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गोरखाको अभिलेखअनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा चुमनुब्री गाउँपालिकाका भेडामा सञ्चालित पूर्णखोप कार्यक्रममा उक्त सङ्ख्याको भेडा बाख्राको तथ्याङ्क सङ्कलन भएको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गोरखाको अभिलेखअनुसार आर्थिक वर्ष २०८१/८२ मा पालिकाको १६ हजार ५९८ भेडाबाख्राहरुलाई पूर्ण खोप दिएको थियो ।

चुमनुब्रीमा गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्ष भेडाको सङ्ख्या वृद्धि भएको देखिन्छ तर सङ्ख्या वृद्धि भने नभएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ गोरखाका पशु सेवा प्राविधिक सुदिप विकले बताए ।

‘‘गत आर्थिक वर्ष २०८१/८२ मा चुमनुब्रीमा पहिलोपटक पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेका थियौं । पहिलो वर्ष भएकाले सबै भेडागोठालालाई खोपबारे जानकारी भएन । त्यसैले कैयौं भेडाहरु छुटेका हुन सक्छन् । त्यसैले अहिले बढेको देखिएको मात्र हो,’’ उनले भने, ‘‘यो आर्थिक वर्ष भने उहाँहरु गाउँ आएको मौका छोपेर खोप लगाएका हौँ ।’’

चुमनुब्रीको भेडाबाख्राहरुलाई पूर्ण खोप लगाउन चुनौती रहेको उहाँले जानकारी दिए । फोन सम्पर्कसमेत हुन नसक्ने लेकमा गोठालाहरु पुग्ने हुँदा उनीहरुसँग सम्पर्क गर्न कठिन हुने गरेको कार्यालयको भनाइ छ । उनले भने, ‘‘उहाँहरु जुन सिजनमा गाउँ जानुहुन्छ, त्यही सिजनमा बुझेर सबैजनालाई खबर गरेर जान थालेका छौंँ ।’’

बाह्रै महिना गोठमा जीवन बिताउने भेडा गोठालाहरु उधौली लागेपछि उँधो(बेंसी) झर्ने र उभौलीमा उँभो(लेक) चढ्ने चुमनुब्री–३ जगतका गणेश कार्की बताउँछन् । भेडागोठालाहरु जगत हुँदै उँधो, उँभो गर्ने उनको भनाइ छ ।

‘‘उँधौली र उभौली लागेको भेडाले नै थाहा पाउने रहेछ । जब कात्तिक लाग्छ अनि अलिअलि जाडो बढ्न थाल्छ, भेडाहरु उँधो फर्केर चर्न थाल्छन् । अनि जब वैशाख लाग्छ र अलिअलि गर्मी हुन थाल्छ त्यसपछि भेडाहरु उँभो फर्केर चर्न थाल्छन्,’’ उनी भन्छन्, ‘‘उँधौली र उभौली लागेपछि यही जगतको बाटो हुँदै भेडाबाख्रा गाउँबेंसी गर्छन् ।’’

हरिया चउर हिउँ परेर सेताम्मे हुन थालेपछि गोठालाहरु लेकबाट भेडाका लस्कर धपाउँदै–धपाउँदै महिना दिनपछि गाउँ नजिकै आउँछन् । गाउँ वरिपरिका बारीमा केही दिन चराएर फेरि भेडा धपाउँदै आरुघाट, धादिङको सल्यानटार, बसेरी तथा लमजुङको बाहुनडाँडा, विचौरतिर झार्ने गर्छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा उँभो लेकका खर्कहरुमा भरिने भेडाबाख्रा जाडो लागेसँगै एक हजार मिटरभन्दा होचो बेंसीतिर झार्ने गर्छन् ।

भेडाहरु लेकको गोठबाट बेंसी झार्दा राम्रो दिन बार हेरेर झार्ने गरिन्छ । लेकको गोठबाट पनि एकै दिनमा बेंसी झार्दैनन् । हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याइपुर्‍याउने पाङसिङका विकास गुरुङ बताउँछन् ।’’ गाउँमा झारेको भेडा यहाँबाट अझै तल्लो भेग लैजान चाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ,’’ उनले भने ।

चुमनुब्री गाउँपालिकाको पाङसिङ गाउँ जिल्लाकै धेरै भेडा पालन गर्ने गाउँ रहेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘‘यहाँको भेडा बारपाक, लाप्राक, बाहुनडाँडालगायत क्षेत्रमा पाल्न भनेर लैजाने गर्छन्,’’ उनले भने । यद्यपि पछिल्लो समय भेडा पालनमा विभिन्न सङ्कटहरु देखिन थालेको पालिका अध्यक्ष लामा बताउँछन् । ‘‘मुख्यरुपमा जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा र यहाँको जनजीवनमा देखिएको छ,’’ लामाले भने, ‘‘भेडापालन पनि सङ्कटमा परेको अवस्था छ । वैदेशिक रोजगारीले पनि यसलाई थप असर पुर्‍याएको छ ।’’ पालिकाले भेडा/बाख्रापालन गर्ने किसानलाई प्रोत्साहन दिन कार्यक्रम गरिरहे पनि बर्सेनि सङ्ख्या घटिरहेको उनको भनाइ छ ।

गोठालाहरुलाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत तथा खानेपानीको व्यवस्थालगायतका कार्यक्रमहरु सञ्चालन गरेको चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिए । ‘‘गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयंको २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रमहरु बर्सेनि गर्ने गरेका छौं,’’ उनले भने, ‘‘गोठालाहरुलाई त्रिपाल, टर्चलाइट, गमबुटजस्ता सामान पनि दिने गरेका छौँ ।’’

गोठालाहरुलाई प्रोत्साहनस्वरुप चुमनुब्री गाउँपालिकाले यसवर्ष घुम्ती गोठ सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । कार्यक्रममा नौ वटा पशु फार्मका करिब १५० जना आबद्ध रहेको उनले जानकारी दिए । गाउँपालिकाले भेडा गोठालाहरुलाई प्रोत्साहन गर्ने नीतिसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको लामिछानेको भनाइ छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गोरखाले भेडापालक कृषकलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको केन्द्र प्रमुख अनन्त कोइरालाले बताए । कार्यालयले पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत भेडाबाख्रामा पूर्ण खोप कार्यक्रम, घुम्ती गोठ कार्यक्रम, भेडाहरुका लागि जुका तथा नाम्लेको औषधि वितरण, घुम्ती गोठका भेडा गोठालाहरुका लागि आवश्यक सामग्री सहयोगलगायतका कार्यक्रमहरु सञ्चालन गरेको छ ।

घुम्ती प्रणालीअन्तर्गत चरन क्षेत्रमा रहेका भेडा बाख्राको स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा किसानहरुलाई परामर्श कार्यक्रम पनि सञ्चालन गरेको कोइरालाले बताए । केन्द्रले यी सबै कार्यक्रमहरु गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गर्दै आएको छ । ‘‘भेडापालन हुने चुमनुब्री, धार्चे, बारपाकसुलिकोट, अजिरकोट र आरुघाट गाउँपालिकामा यी कार्यक्रमहरु सञ्चालन भइरहेका छन्,’’ उनले भने । धेरै भेडापालन हुने चुमनुब्री गाउँपालिकामा प्रभावकारी रुपमा यी कार्यक्रमहरु सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

चुमनुब्रीको भेडापालक कृषकहरुलाई बजारसँग जोड्नु पर्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा देखिएकाले भइरहेको समस्या अनुकूल चल्नुको विकल्प नरहेको उनको तर्क छ । ‘‘बढी प्राविधिक कुरा गर्नुभन्दा पनि उहाँहरुलाई बजारसँग जोड्न सक्नुपर्छ । त्यो नै समस्याको हल हो,’’ उनले भने । साथै, भेडीखर्कहरुको थप उचित व्यवस्थापन गर्न सके पनि भेडा गोठालाहरुलाई धेरै राहत मिल्ने उनको भनाइ छ ।

हिमाली लेक, पाटन, चरनहरुमा अहिलेसम्म त हजारौं भेडा चरिरहेका छन् तर गोठालाहरूको चिन्ता भेडाको सुरक्षाभन्दा ठूलो छ–आफ्नो पुस्तापछि यो बाटो हिँड्ने मानिस होलान् कि नहोलान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *