नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले इतिहासमा पाएको असाधारण जनमतलाई टिकाउन पनि उत्तिकै चुनौतीपूर्ण हुने बताएका हुन् ।

उनले भने, ‘पार्टी स्थापनाको चार वर्षमा जुन जनसमर्थन छ । लोभलाग्दो छ । मुक्तकण्ठले प्रशंसा गर्छु । रवि लामिछाने र बालेन शाहले कुशतालपूर्वक नेतृत्व गर्नुभएको छ ।’ उनले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताए । उनले भने, ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’

सभापति थापाले रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए । उनले भने, ‘तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं । हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’

उनले नयाँ शक्तिलाई सत्ता र शक्तिको उन्मादबाट जोगिन विशेष आग्रह समेत गरे । नेपालको इतिहासमा यसअघि पनि विभिन्न राजनीतिक दलहरूले तीन–चार पटक यस्तै उत्साहजनक र ठूलो जनमत प्राप्त गरेको स्मरण गर्दै उनले हरेक पटक त्यो जनमत दुर्घटनामा परेको तितो यथार्थ औँल्याए ।

सभापति थापाले पार्टीहरूमा सत्ता र शक्तिको घमण्ड बढ्दै जाँदा नेतृत्वबाट अलोकतान्त्रिक व्यवहारहरू प्रदर्शन हुन थाल्ने र अन्ततः जनताले दिएको मत तथा भरोसा दुर्घटनामा पर्ने गरेको बताए । उनले रास्वपाले विगतका राजनीतिक दलहरूले गरेका त्यस्ता गल्तीहरूबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *