नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा कोषकोतर्फबाट निर्देशक नवराज खड्का र बैंककोतर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरे । सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ ।

कोषले सहभागी कर्मचारीको व्यक्तिगत खाता तयार गरी परिचयपत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरणअनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई नियमानुसार कर कट्टा गरी अवकाश रकम भुक्तानी गर्ने कार्य गर्नेछ ।

साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधा कोषको नियममा उल्लेख भएअनुसार पाउनेछन् । सम्झौताअनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीको साविकको रकम र बहाल रहेका कर्जासमेतलाई कोषमा रकमान्तर गरी समायोजन गरिने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *