इरानसँग हस्ताक्षर भइसकेको र छिट्टै विवरणहरू सार्वजनिक गरिने ट्रम्पको भनाई

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण छिट्टै सार्वजनिक हुने बताएका छन् । ‘यसमा हस्ताक्षर भएको छ भन्न पाउँदा मलाई एकदमै खुसी लागेको छ,’ जी–सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँगको कुराकानीमा उनले भने।

अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन सुरु गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर जेनेभामा भएकै दिन होर्मुज जलमार्ग पुनः खुला हुने उनीहरूले बताएका छन् ।

यसै साता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि सुरु हुने बताइएको छ। इरानमाथिका प्रतिबन्ध र उसका सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीहरूको भनाइ छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी प्रसारक सीएनएनसँग बताए अनुसार इरानसँगको सम्झौताको प्रारूप ‘डेढ पृष्ठ लामो’ छ । भान्सले आगामी दिनमा हुने वार्तामा थप विस्तृत विषयहरूमा काम हुने बताए ।

भान्सले एउटा हरफमा इरानले ‘क्षेत्रीय शान्ति र स्थिरता’का लागि प्रतिबद्धता पनि जनाएको बताएका छन्। जसमा “आतङ्कवादी सङ्गठनलाई“ आर्थिक सहयोग रोक्ने विषयसमेत रहेको उनको दाबी छ।

‘त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ उनीहरूले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउन लागेका छन्,’भान्सले भनेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त सम्झौतामा ट्रम्प, भान्स र इरानका सभामुख मोहम्मद बागेर गालिबाफले विद्युतीय हस्ताक्षर गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *