काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरे ।
महासचिव पोखरेलले पपुलिजम र एनार्किजमले तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र समाजलाई यथास्थितिमै राख्ने प्रवृत्ति देखाउने दाबी गरे ।
उनले भने, ‘पपुलिजम र एनार्किजमले तत्कालका मुद्दाहरूमा आफूलाई केन्द्रित गर्छन् र समाजलाई यथास्थितिमै राख्ने मान्यताको पैरवी गर्छन्। यी यथास्थितिका पोषक हुन् । तर उनीहरूले समाजलाई यति भ्रमित बनाउँछन् कि सबै समस्याको समाधान यिनै हुन् भन्ने जस्तो इम्प्रेशन दिन्छन् ।’
उनले वैकल्पिक राजनीति प्रविधिको जगमा मात्र टिक्न नसक्ने बताउँदै विचारधारात्मक आधार आवश्यक रहेको पनि उल्लेख गरे। उनले भने, ‘वैकल्पिक राजनीति प्रविधिको जगमा निर्माण भयो। तर यो दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न छ । त्यसैले अब समाज फेरि विचारधारातर्फ फर्किनुपर्छ र फर्काउनुपर्छ । समय लाग्ला, तर समाज हिँड्ने बाटो त्यही हो ।’
