काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन् ।
उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेकोमा भ्रमणबाट अपेक्षित परिणाम नआएको बताइन् ।
उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर सदनमा संर्घष गरेका थियौं । बजेटमाथि छलफल गर्नुपर्ने थियो र समयमै बजेटलाई पास गर्नुपर्ने जिम्मेवारीलाई बोध गर्दै संघर्षलाई परिवर्तन गरेका हौं । मुलुकको प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गैरजिम्मेवार र राष्ट्रलाई नोक्सान हुने थियो । त्यस्तै परराष्ट्रमन्त्री छिमेकी मुलुक भारतको भ्रमणमा जानुभयो । हामी खुसी भएका थियौं । भारत भ्रमण गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनु हुनेछ भन्ने थियो । विद्यमान असमझदारी हटाउन सहयोग गर्ने विश्वास गरेका थियौं । तर दुर्भाग्यको कुरा उहाँ न्यानो अतिथ्यतामा रमाउँदै बिच्छ्याइएका कार्पेटहरुलाई कुल्चेर राष्ट्रवादलाई भुल्नु भएछ ।’
उनले परराष्ट्रमन्त्रीले भारत भ्रमणका क्रममा ‘विगतको बोझ बोक्न सक्दैनौँ’ भनेर कुन विषयलाई भनेको भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘विगतको बोझ बोक्न सक्दैनौँ भनेर के चिजलाई भन्न खोज्नुभएको हो ? संसद्मा राष्ट्रियताको सन्दर्भमा छलफल गर्दै गर्दा उहाँले हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत अतिक्रमित जमिनको नेपालको दाबालाई बोक्न सक्दैनौँ भन्नुभएको हो ?’
सरकारका मन्त्रीहरूले सम्हालिएर बोल्नुपर्नेमा जोड दिँदै उनले । सरकार परिवर्तन हुँदैमा राष्ट्रको नीति परिवर्तन नहुने बताइन् । त्यस्तै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै जवाफ माग गरेकी छन् । उनले भनिन्, ‘अर्थमन्त्रीले जवाफ दिँदा जे चीज बताउनुभयो धेरै नै आपत्तिजनक कुरा बताउनुभएको छ । कसलाई लक्षित गर्नुभएको ? फाइल खोल्ने धम्की दिनुभएको छ । गिरिबन्धु ‘टि स्टेटको पाइल खोलियोस् । यो हार्दिक आग्रह छ । ओम्नी हुन कि वाइडबडी हुन कि के के हुन् । ति खोलियोस् । साचो कुरा जे हो त्यो बाहिर ल्याइयोस् ।’
