विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विवाद समाधान गर्न नेतृत्वले साहस देखाउनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा कांग्रेसको इतर समूहको भेलालाई सम्बोधन गर्दै सिटौलाले अनावश्यक ‘नाटक’ बन्द गरेर विवाद समाधानमा लाग्न नेतृत्वलाई आग्रह गरेका हुन् ।
सभापति थापालाई लक्षि गर्दै उनले भने, ‘यो साहस तपाईँको हृदयबाट आउनुपर्छ । विवाद के होला भनेर नडराउनुस् । १० मिनेटमै कुरा टुङ्गिन्छ। लेख्ने र मेटाउने शक्ति तपाईँहरूसँगै छ, अब एकमुस्ट निर्णय गरेर अघि बढ्नुस् ।’
उनले देशको लोकतन्त्र र संवैधानिक व्यवस्था नै संकटमा परेको बेला कांग्रेसले आफ्नो आन्तरिक विवादलाई छिटो टुङ्ग्याएर बलियो बन्नुपर्ने बताए ।
उनले नेतृत्व तहलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको निर्णय लिन र महाधिवेशनको प्रक्रियालाई पारदर्शी ढंगले अघि बढाउन आग्रह गरे । सिटौलाले नेपाल तर्सनेहरूको देश भएको भन्दै डराउने र तर्साउने सिलसिला कांग्रेसले रोक्नुपर्ने बताए ।
