अमरेशको आक्रोशः जताततै डरको माहोल छ, डरले शासन चल्ला तर विकास हुँदैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताएका हुन् ।

उनले बजेटलाई कार्यान्वयन हुन नसक्ने ‘फुकेको बेलुन’को संज्ञा दिए । उनले भने, ‘साउथ एसियामा कुनै देश छैन– जहाँ जीडीपीको ३२/३३ प्रतिशत बजेट बनाइन्छ । यो आफैँमा एउटा ठूलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्यन हुन्छ ? मलाई विश्वास छैन । अरू साथीहरूलाई होला ।’

उनले बजेटले देशका वास्तविक समस्या र गरिब जनतालाई सम्बोधन गर्न नसकेको बताए टिप्पणी गरे । उनले देशमा अहिले विधिको शासनभन्दा पनि त्रासको वातावरण सिर्जना गरेर सरकार अगाडि बढ्न खोजेको टिप्पणी गरे।

उनले भने, ‘जताततै डरको माहोल छ । डरले शासन चल्ला तर विकास हुँदैन ।’ बजेट भाषण गरेपछि देशमा तुरुन्तै ठूलो परिवर्तन नहुने बताए । उनले भने, ‘हरेक अर्थमन्त्रीलाई लाग्छ बजेट बनेको भोलिपल्ट देश कायापलट हुन्छ । स्वीजरल्याण्ड बन्छ भन्ने लाग्छ । यो पहिलेदेखिको कुरा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *