काठमाडौँ । जेनजी अगुवा रक्षा बमले सांसदहरुलाई ३५ वर्षको भाष्यबाट बाहिर निस्कन आग्रह गरेकी छन् । संसदमा सम्बोधनका क्रममा रास्वपाका सांसदहरुले ३५ वर्षदेखि देश खोक्रो बनाउनेहरु भन्दै पुराना दललाई गाली गर्ने गरेको भन्दै उनले आफ्नो दिनगन्ती सुरु भइसकेकाले ३५ वर्षको भाष्यबाट बाहिर निस्कन आग्रह गरेकी हुन् ।
उनले भनेकी छन्, ‘नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईंहरूको पनि गन्ती सुरु भइसकेको छ। घरबारविहीन सुकुम्बासीहरूले तपाईंहरूको दिन गनिरहेका छन्। भूमिहीन नागरिकहरूले गनिरहेका छन्। बेरोजगार युवाहरूले गनिरहेका छन्। खाडीमा पसिना बगाइरहेका नेपालीहरूले गनिरहेका छन् । अब डाडुपन्यु तपाईंहरूकै हातमा छ। त्यसैले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुहोस्। अर्को निर्वाचनसम्म आइपुग्दा तपाईंहरूको पनि पाँच वर्ष पूरा भइसकेको हुनेछ। तपाईंहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन्, र हिसाब पनि राखिरहेका छन्।’
