हेटौंडा । तराई–मधेश फाष्ट ट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति फास्ट ट्रयाकको गाडी सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान बस्ने करिब ४२ वर्षीय बोधराज बुढाथोकी र बाराको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव गम्भीर घाइते भएका थिए । बुढाथोकी नेपाली सेनाका पूर्वहवल्दार तथा चालक रहेको र यादव फास्टट्रयाक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरी टोलीले गाडीमा सवार दुई जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाएको थियो । बुधबार राति दुर्घटना भए पनि उनीहरूलाई आज बिहान मात्रै हेटौंडा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
