बीबीसी । युद्धविराम चलिरहँदा गोलाबारीमा उत्रिएका इरान र इजरायलले एक अर्काविरुद्धका आक्रमण रोकेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशले ‘अहिलेका लागि’ आक्रमण रोकेको सोमबार बताए ।
तर उनले इरान र हिज्बुल्लाहविरुद्ध सङ्घर्ष ‘समाप्त नभएको’ बताएका छन् । इजरायली प्रधानमन्त्रीको घोषणाअघि इरानको सशस्त्र बलले इजरायलमाथिको कारबाही रोकिएको बताएको थियो।
तर इजरायलले लेबनन सहितका स्थानमा थप आक्रमण गरे ‘थप कडा’ कदम चाल्ने चेतावनी इरानी सेनाले दिएको छ । इरान–समर्थित हिज्बुल्लाहलाई लक्षित गर्दै तेहरानबाट बेरुतमा आइतबार गरिएको आक्रमणको प्रतिवादमा इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो ।
इरानबाट भएको क्षेप्यास्त्र प्रहारको बदलामा इजरायलले सोमबार बिहानै इस्लामिक गणतन्त्रका सैन्य संरचनालाई निशाना बनाएर आक्रमण गर्यो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीसँग कुरा गर्दै नेतन्याहूले आफ्नो चाहना विपरीत आक्रमण गरेको दाबी सही नभएको बताए ।
आफूले तेहरानको आक्रमणमा कुनै प्रतिक्रिया नजनाउन भन्नुअघि नै इजरायली क्षेप्यास्त्रहरू प्रक्षेपण भइसकेको ट्रम्पले बताए । सङ्कटको विषयमा ट्रम्पले नेतन्याहूसँग कुरा गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। एक जना इजरायली अधिकारीका अनुसार ट्रम्पको आग्रहमा इजरेलले आक्रमण रोकेको हो ।
इरानमाथि आक्रमण रोक्न नेतन्याहूलाई मनाएकोबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मैले यति मात्र भनेँ, ’हामीले विवेक प्रयोग गर्नुपर्छ।’ हामी एकदमै शक्तिशाली, एउटा राम्रो सम्झौतामा हस्ताक्षरको नजिक पुगेका छौँ।’
