काठमाडौं । फिफा विश्वकपको २३ औँ संस्करणसम्म आउँदा हालसम्म २७ सय गोल भएको छ जसमा झन्डै १३ सय खेलाडीले गोल गरेका छन् । सन् १९३० मा भएको पहिलो संस्करणको विश्वकपमा लुसियन लौरन्टले गोल गर्दै विश्वकपमा खाता खोलेका थिए । त्यसयता १ सय १ खेलाडीले पाँच भन्दा बढि गोल गरिसकेका छन् ।
पहिलो विश्वकपमा अर्जेन्टिनाका गुलेर्मो स्टाबिलले सर्वाधिक ८ गोल गरेका थिए । त्यसपछि २५ खेलाडीले मात्र विश्वकपमा ८ गोल भन्दा बढि गोल गर्न सकेका छन् । विश्वकपको एकै संस्करणमा सबैभन्दा बढि गोल गर्ने कीर्तिमान फ्रान्सका जस्ट फोन्टाइनको नाममा रहेको छ । उनले सन् १९५८ मा ६ खेलमा १३ गोल गरेका थिए । त्यसअघि सन् १९५४ मा हंगेरीका सान्दोर कोस्सिसले ११ गोल गरेका थिए ।
त्यसपछि सन् १९७० मा वेस्ट जर्मनीका गर्ड मुलरले १० गोल गरेका थिए । चारवर्षपछि फाइनल गोल गर्दै मुलर १४ गोलसहित विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । तीन दशकपछि ब्राजिलियन रोनाल्डोले १९९८, २००२ र २००६ को विश्वकपमा कुल १५ गोल गर्दै मुलरको कीर्तिमान तोडे ।
हाल सन् २००२ देखि २०१४ को अन्तरालमा जर्मनीका मिरोस्लाब क्लोसले १६ गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यसपटक उनको कीर्तिमान भंग गर्ने अवसर अर्जेन्टिनी लियोनल मेस्सी र किलियन एम्बाप्पेलाई रहेको छ । हालसम्म विश्वकपमा मेस्सीले १३ र फ्रान्सका किलियन एम्बाप्पेलाई १२ गोल गरेका छन् ।
१२ जुनदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा शुरू हुने विश्वकपमा अर्जेन्टिनाले १७ जुन मा अल्जेरिया र फ्रान्सले १६ जुनमा सेनेगलसँग खेल्दै विश्वकपको शुरुवात गर्नेछन् ।
यी हुन् विश्वकपमा सर्वाधिक गोल गर्ने शीर्ष १० खेलाडी
| क्र.स | खेलाडीको नाम | देश | खेल | गोल |
| १. | मिरोस्लाभ क्लोज | जर्मनी | २४ | १६ |
| २. | रोनाल्डो | ब्राजिल | १९ | १५ |
| ३. | गर्ड मुलर | जर्मनी | १३ | १४ |
| ४. | जस्ट फोन्टाइन | फ्रान्स | ६ | १३ |
| ५. | लियोनल मेस्सी | अर्जेन्टिना | २६ | १३ |
| ६. | पेले | ब्राजिल | १४ | १२ |
| ७. | किलियन एम्बाप्पे | फ्रान्स | १४ | १२ |
| ८. | सान्दोर कोस्किस | हंगेरी | ५ | ११ |
| ९. | जर्गन क्लिन्समन | जर्मनी/वेस्ट जर्मनी | १७ | ११ |
| १०. | हेल्मुट राहन | वेस्ट जर्मनी | १० | १० |
