नयाँदिल्ली । ‘ककरोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपके शनिबार अमेरिकाबाट दिल्ली आइपुगेका छन् । सीजेपीले जन्तर–मन्तरमा प्रदर्शनको घोषणा गरेसँगै त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ भने युवाहरूको भीडसमेत बढ्दै गएको बताइएको छ ।
दीपकेले समर्थकहरूलाई आन्दोलनलाई प्रेम र शान्तिपूर्ण रूपमा अघि बढाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत प्रहरीलाई फूल दिन आग्रह गर्दै त्यसलाई करुणा र आभारको प्रतीक भएको बताएका छन् ।
‘ककरोच इज ब्याक’ नामक एक्स ह्यान्डलले दिल्ली प्रहरीले जन्तर–मन्तरमा प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ । उक्त ह्यान्डलले ‘ककरोच आउँदैछन्, धर्मेन्द्र प्रधान जाँदैछन्’ भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेको छ ।
यसअघि दीपके पक्राउ पर्न सक्ने आशंका व्यक्त गरिएको भए पनि सीजेपीले सार्वजनिक गरेको तस्बिरमा उनी विमानस्थलबाट बाहिरिँदै गरेको देखिएका छन् । तस्बिरमा उनको हातमा डा. भीमराव आंबेडकरको जीवनीसमेत देखिएको छ ।
जन्तर–मन्तर क्षेत्रमा ठूलो संख्यामा सञ्चारकर्मी तथा प्रदर्शनकारी भेला भइरहेका छन् । सामाजिक सञ्जालमा व्यंग्य र मीमबाट सुरु भएको ‘ककरोच जनता पार्टी’ अभियान अहिले सडक आन्दोलनको रूपमा विकसित हुँदै गएको विश्लेषण गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रदर्शनमा सहभागीहरुले सीजेपीको प्रभाव र भविष्यको दिशा निर्धारण गर्न सक्नेछ । भारतमा पछिल्लो समय विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएका अनियमितताका कारण विवाद चुलिएको छ । विशेषगरी नीट–यूजी परीक्षा प्रश्नपत्र चुहावट, प्रशासनिक कमजोरी तथा परीक्षा व्यवस्थापनसम्बन्धी विवादका कारण चर्चामा रहेको छ ।
यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले दिल्लीसहित भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै परीक्षा प्रणालीमा बारम्बार देखिएका अनियमितताबारे जवाफदेहिता माग गरेका थिए ।
