काठमाडौं । श्रम, संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको संसदमा व्यक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन र सदनमा माफी माग्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा राईले प्रधानमन्त्रीले आफ्नो प्रश्नको जवाफमा तथ्यहीन र मिथ्या अभिव्यक्ति दिएको आरोप लगाए । उनले प्रधानमन्त्रीले यति कमजोर जवाफ दिने थापा पाएको भए आफूले प्रश्नै नसोध्ने बताए ।
उनले भने, ‘हाम्रा प्रधानमन्त्रीले यति कमजोर, मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्छ भन्ने थाहा भएको भए मैले हिजो त्यो प्रश्न नै सोध्ने थिइनँ । आज मलाई आफैंलाई लज्जाबोध महसुस भइरहेको छ । त्यसकारण प्रधानमन्त्रीको अभिव्यक्ति केवल रेकर्डबाट हटाउने कुरा मात्र होइन, यसले इतिहासमा एउटा गलत नजिर स्थापित गरेको छ ।’
राईले प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा नेपालको सीमा र भूभागसम्बन्धी दाबीमा समेत असर पार्न सक्ने तर्क गरे। उनले भने, ‘भोलि कुनै देशले ‘तिम्रै प्रधानमन्त्रीले नेपालले भूमि मिचेको भनेका छन्, अब हाम्रो भूमि फिर्ता देऊ’ भन्यो भने कुन भूमि दिने, सभामुख महोदय ?’
