नेपालले कतै एक इन्च भूमि मिचेको छैन, थाहा छैन भने हामीसँग सिक्न आए हुन्छः ऐन महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ संज्ञा दिए । उनले भने, ‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन् ।’

प्रधानमन्त्रीले संसद्बाट ‘छिमेकी मुलुकको भूमि मिचिएको’ भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले हचुवाको भरमा सदनबाट भरको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो यो गैरजिम्मेवारी, राष्ट्रघाती अभिव्यक्ति सरह सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्दै सदनको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले नेपालले कसैको भूमि नमिचेको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि कसैलाई नदिनेपनि स्पष्ट पारे ।

उनले केही थाहा नभए आफूहरुसँग सिक्न आउन आग्रह गरे । उनले भने, ‘नेपालले कतै एक इन्च भूमि मिचेको छैन । थाहा छैन भने पढे हुन्छ । अध्ययन गरे हुन्छ । नजाने हामीसँग सिक्न आए हुन्छ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय मिडियामा खुसीयाली छाएको बताए । उनले भने, ‘आज सिंगो नेपाली शिर झुकाइरहेका छन् । भारतीय मिडियामा खुसीयाली मनाउने काम भयो । प्रधानमन्त्रीबाट विदेशीलाई खुसी बनाउने काम भयो । आज रास्वपाको सभापति भारत जानुअघि चाकडी गरिएको हो ?’

महरले प्रधानमन्त्री सदनमा आउँदा फुटबल खेल्ने पोशाकमा आउने गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘उहाँ सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा । प्रधानमन्त्रीले माफी माग्नुपर्छ । देशवासीको नाममा । प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध जारी रहने जानकारी गराउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *