प्रधानमन्त्रीले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ । विपक्षी दलले प्रधानमन्त्री बालेन साहले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले आइतबार संसदमा प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नुपर्ने निर्णय गरेको हो ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याउँदासम्म बजेटमाथिको छलफल अघि बढाउन नदिने बताए ।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, राप्रपाकी प्रमुख सचेतक खुस्बु ओली, श्रम संस्कृति पार्टीका आरेन राई, ध्रुवराज राई, एमाले संसदीय दलका उपनेता पद्मा अर्याल, एमालेका प्रमुख सचेतक ऐन महर, कांग्रेसकी प्रमुख सचेतक बासना थापा, कांग्रेसका सचेतक निष्कल राईसहितका नेताहरू सहभागी थिए ।

प्रधानमन्त्रीले भारतले नेपाली भूमि मिचेकोमा कूटनीतिक तहबाट वार्ताका माध्यमबाट समाधान खोज्ने तयारी भएको र नेपालले पनि भारतका विभिन्न ठाउँमा भूमि मिचेको बताएपछि विपक्षी दल विरोधमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *