कास्की । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेशस्तरीय १९ वर्षमुनिको महिला क्रिकेट प्रतियोगिता जारी छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आजका खेलमा कास्की र स्याङ्जाले जित निकालेका छन् ।
पहिलो खेलमा कास्कीले नवलपुरलाई ८८ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो । विपाशना मैनालीले २८ र विनिता सिग्देलले १७ रन बनाइन् भने अतिरिक्तबाट मात्रै ४५ रन प्राप्त भयो ।
जितका लागि १२० रनको लक्ष्य पछ्याएको नवलपुर १४ ओभरको चौथो बलमा ३१ रनमा अलआउट भयो । आयुष्मा चापागाईंले सर्वाधिक सात रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
कास्कीका लागि सुशीला डिम्डुङले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा पाँच रन खर्चेर पाँच विकेट लिइन् । वर्षा पौडेल, यशोदा भुजेल, सोनिमा थापा मगर, रोजी परियार र रचना चौधरीले समान एक–एक विकेट लिए । सुशिला ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
यसैगरी, आजको दोस्रो खेलमा स्याङ्जाले पर्वतलाई ११० रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा आठ विकेट गुमाएर १३० रन बनायो । सेरिना थापाले २७ रन, अरमिना अधिकारीले १९ रन, सलिना सेनले १७ रन तथा कुसुम गोदारले १७ रनको योगदान दिइन् ।
जितका लागि १३१ रनको लक्ष्य पछ्याएको पर्वत आठ ओभरमा २० रनमा समेटियो । दीपिका सापकोटाले सात रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । स्याङ्जाका लागि निरु जिटीले पाँच विकेट लिइन् । स्याङ्जा र कास्की दुवै टोली अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा छन् ।
स्याङ्जा छ अङ्कका साथ पहिलो स्थानमा रहँदा कास्की पाँच अङ्कका साथ स्याङ्जालाई पछ्याइरहेको छ । सोमबार कास्की र स्याङ्जाबीच हुने अन्तिम लिग खेलले च्याम्पियन टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बागलुङ, पर्वत र नवलपुर गरी पाँच जिल्लाका महिला यु–१९ टोलीको सहभागिता छ । विजेता खेलाडीबाट प्रदेशस्तरीय टोली छनोट गरिने आयोजकले जनाएको छ ।
