काठमाडौँ । नेपाली कांग्रेसले नेपाल–भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
आइतबार राति विज्ञप्ति जारी गरी नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीत भएको बताएका हुन् । कांग्रेसले देशको कार्यकारी प्रमुखले कुनै ऐतिहासिक तथ्य र प्रमाणबिना राष्ट्रिय हित प्रतिकूल हुने अभिव्यक्ति दिनु अक्षम्य भएको जनाएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको दाबी गरिएको छ । कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सीमा क्षेत्रमा देखिएका सामान्य प्राविधिक समस्यासँग तुलना गरेर प्रस्तुत गर्नु गलत भएको जनाएको छ ।
यस्तो अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान तथा सीमा सम्बन्धी दाबीलाई कमजोर बनाउने काम गरेको आरोप पनि कांग्रेसको छ । कांग्रेसले प्रधानमन्त्रीले सीमा समस्याका विषयमा बेलायतसँग पनि संवाद भइरहेको भनी गरेको दाबीप्रति समेत आपत्ति जनाएको छ ।


