काठमाडौं । एसियाली खेलकुद पुरुष क्रिकेट छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा नेपालले चीनमाथि २ सय २१ रनको फराकिलो जित निकालेको हो ।
जितको लागि ३ सय १४ रनको विजयी लक्ष्य पछ्याएको चीनले १९.२ ओभरमा अल आउट हुँदै ९२ रन बनाएको हो । चीनको लागि शेंजिन ज्हागले १५ बलमा ४ छक्का र एक चौकाको मद्दतमा सर्वाधिक ३१ रन बनाउँदा डु जिन्घाओले १७ र कप्तान तान सेन्कुनले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि कुशल मल्लले १.२ ओभरमा एक मेडन राख्दै तीन विकेट लिए । यस्टिया सोमपाल कमी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिँदा नन्दन यादवले एक विकेट लिए ।
यसअघि सिंगापुरको सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३ सय १३ रन बनाएको थियो । नेपालको लागि कुशल भुर्तेलले सतक बनाए । उनले ३५ बलमा सतक पूरा गरेका हुन् । उनले ४३ बल खेल्दै १६ छक्का र ५ चौकाको मद्दतमा १ सय २९ रन बनाए ।
कुशल टी-२० आईमा दुई सतक पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । यस्तै उनी टी-२० आईमा २ हजार रन पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
टी-२० आईको एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी विश्वको चौथो र नेपालको दोस्रो खेलाडी बनेका छन् । यसअघि भारतका युवराज सिंह, वेस्ट इन्डिजका काइरोन पोलार्ड र नेपालका दीपेन्द्र सिंह एरीले टी-२० आई खेलको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
यस्तै कुशल मल्ल र रोहित पौडेललेपनि विस्फोटक ब्याटिङ गर्दै अर्धसतक बनाए । कुशलले ४७ बलमा ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८५ रन बनाउँदा रोहित पौडेलले २१ बलमा नटआउट ६९ रन बनाए । उनले ७ छक्का र ५ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले ११ रनको योगदान गरे ।
चीनका मा क्वाचिंग र दंग जंगीले एक/एक विकेट लिए ।
जितसँगै समूह ‘ए’मा रहेको नेपालले दुई अंक जोडेको छ । अब नेपालले दोस्रो खेल बिहीबार मलेसियासँग खेल्नेछ ।
