नेताहरुलाई पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न राप्रपाका तीन पूर्वअध्यक्षको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन पूर्व अध्यक्ष पशुपतिशमशेर जवरा,डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीका नेताहरुलाई पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न आग्रह गरेका छन् ।

शनिबार साँझ संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी जेठ अन्तिम साता बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति निश्चित गर्ने केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ । तोकिएको समयमै महाधिवेशन हुने कुरामा कुनै शङ्का नगरौँ। पार्टीभित्रका समस्या, विकृति र चुनौतीहरूको निराकरण महाधिवेशनले गर्ने नै छ । तसर्थ, अहिलेको घडीमा पार्टी छाड्ने वा पलायन हुनेबारे नसोच्न र त्यस्तो आत्मघाती कदम नचाल्न हामी पार्टीका सम्पूर्ण साथीहरूलाई विशेष अनुरोध गर्दछौँ ।’

उनीहरुले वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई पार्टी संगठन निर्माणमा जुट्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनमा हामीले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनौँ । तर, पार्टी एकतालाई सुदृढ गर्दै सशक्त कार्ययोजनाका साथ अघि बढ्न सक्यौँ भने छोटो अवधिमै अप्रत्याशित सफलता हासिल गर्न सक्छौँ । हिन्दूराष्ट्र र राजसंस्थाको पुनस्र्थापना गर्न सक्छौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भविष्य उज्ज्वल छ । तसर्थ, वर्तमान अवस्थाबाट कत्ति पनि विचलित नभई पार्टी संगठन निर्माणमा जुट्न हामी सम्पूर्ण साथीहरूमा हार्दिक आह्वान गर्दछौँ ।’

पार्टी महामन्त्री धवलशम्सेर राणाले नयाँ पार्टी गठनको कसरत गरिरहेको खबर सार्वजनिक भएपछि उनीहरुको विज्ञप्ति आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *