काठमाडौँ । प्रहरीले कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेको छ । प्रहरीकाअनुसार उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा कुशीनगरबाट उद्धार गरी रुपन्देही ल्याइएको हो ।
आठ वटा बसमार्फत उनीहरूलाई शनिबार बिहान बेलहिया नाका हुँदै रुपन्देही ल्याइएको प्रहरीले जनाएको छ । रोजगारीको प्रलोभनमा परी उनीहरु भारतको कुशीनगर क्षेत्रमा अलपत्र परेका प्रहरीले जनाएको छ । अलपत्र पर्नेमा महिलाहरु पनि रहेका जानकारी प्रहरीले दिएको छ ।
प्रहरीले भनेको छ, ‘रोजगारीको प्रलोभनमा परी भारतको कुशीनगर क्षेत्रमा अलपत्र परेका ४५३ नेपाली नागरिकलाई भारतस्थित नेपाली राजदूतावास एवं भारतीय प्रहरीको समन्वयमा उद्धार गरी बेलहिया नाकामार्फत नेपाल ल्याइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा सुरक्षित राखिएको ।’
उनीहरुलाई भारत लगेर अलपत्र पार्नेहरुकाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
