भूराजनीतिक द्वन्द्वमा नेपाली भूमिलाई दुरूपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढ्योः अध्यक्ष ओली

-केपी शर्मा ओली

यतिबेला पार्टी र आन्दोलनसामू गम्भीर चुनौती खडा भएको छ । लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको नेपालको संविधान संकटमा छ । लोकतान्त्रिक गणतन्त्रको भविष्य संकटमा छ । संसदीय लोकतन्त्रको हुर्मत लिने काम भइरहेको छ । नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ । भूराजनीतिक द्वन्द्वमा नेपालीको भूमिलाई दुरूपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढेको छ । नवगठित सरकारका काम र क्रियाकलापहरूले नेपालीको भौगोलिक अखण्डता नै संकटमा पर्ने हो कि भन्ने गम्भीर आशंका पैदा भएको छ । यस्तो अवस्थामा पार्टी आन्दोलनको मात्र होइन, लोकतान्त्रिक भविष्यको सुनिश्चिताका लागि संविधानको रक्षा गर्ने अभिभारासमेत हाम्रासामू छ । विश्व व्यवस्थामा भइरहेको हलचल र त्यसका प्रभाहरूबाट क्षेत्रीय अस्थिरता उत्पन्न नहोस् र नेपालको सार्वभौमसत्ता र अखण्डतामा समस्या नआओस् भन्नका लागि पनि हाम्रो पार्टी सबल र सुदृढ हुनु आवश्यक छ ।

निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौं । पार्टीका सामू उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौं । भदौ २३ र २४ को घटना पछि उत्पन्न असहज परिस्थिति, पार्टीभित्र उत्पन्न अन्तरविरोध समेतका कारणले हामीले समयअगावै एघारौं राष्ट्रिय महाधिवेशन आयोजना गर्यो । प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनस्र्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टीसमेत निर्वाचनमा जानुपरेको थियो । निर्वाचनको परिणाम हाम्रो पार्टीका पक्षमा रहेन नै । नेपालको प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमा समेत रहेन । यमा कहाँ के कस्तो कमिकमजोरी रहे ? कस्को के कस्तो भूमिका रह्यो भन्ने कुरा समयक्रममा उजागर समेत हुँदै जाला । तर पनि यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन । यसको परिणाम पनि स्वभाविक रहेन ।

यस सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने नै छ । वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ । निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ । यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक छ । पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ । पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाउने छ । जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव छ । चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ । इतिहासका विभिन्न कालखण्डमा गम्भीर भन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु ।

(ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन-२ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *