साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने पहिलो खेलमा नेपाल र भुटान भिड्दैछन् । गोवास्थित पण्डित जवाहार्लाह नेहरु स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा रहेका छन् । नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसाथ भारत पुगेको हो । पछिल्लो सात संस्करणमा सातपटकनै सेमिफाइनलको यात्रा तय गरेको नेपाल फाइनलमा पाँचपटक भारतसँग र दुईपटक बंगलादेशसँग पराजित भएको थियो । यसअघिको सात संस्करण मध्ये ६ पटक फाइनलमा पुगेको नेपाल सन् २०१६ मा भारतमै भएको चौथो संस्करणमा फाइनल पूग्न असफल भएको थियो । त्यसैले नेपाल यसपटक उक्त इतिहास मेटाउँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

नेपाल यसपटक टोलीकी कप्तान तथा मुख्य फरवार्ड सावित्रा भण्डारी र विंगर सविता राना मगर बिना भारत पुगेको हो । दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहेका छन् । यसपटक मुख्य प्रशिक्षक नविन न्यौपाने अनुभवी र युवा खेलाडीको टोली लिएर भारत पुगेका छन् ।

पछिल्लो समय उदयमान टोलीको रुपमा आफुलाई स्थापित गरेको भुटान सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ । यसअघिको दुई संस्करणमा सेमिफाइनलको यात्रा तय गरेको भुटान यसपटक ह्याट्रिक गर्दै ठुला टोलीलाई स्तब्ध बनाउने लक्ष्यमा रहेको छ ।

हालसम्म नेपालले पाँचपटक भुटानसँग प्रतिस्पर्धा गरेको छ । जसमा ४ खेल नेपालले जित्दा एक खेल बराबरीमा सकिएको छ । नेपालले पछिल्लोपटक डिसेम्बरमा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल १-० गोलले पराजित भएको थियो ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’मा भारत बंगलादेश र माल्दिभ्स रहेका छन् । आजै हुने दोस्रो खेलमा आयोजक भारत र माल्दिभ्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *