बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवकको शव फेला

सर्लाही । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला परेका छन्।

शनिबार साँझ पाँच जनाको समूह घुम्न गएका बेला नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका – ९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो बागमती नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनीहरु घरमा कसैलाई जानकारी नगराई घुम्न गएको प्रहरीले जनाएको छ। घटनाको खबर राति करिब ८ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट र इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरीको टोली खटिएर खोजतलास सुरु गरेको थियो । उनीहरुसँगै नदीमा पुगेका सर्लाहीकै बरहथवा नगरपालिका – ५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल रहेका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः१५ बजे रोहित महतोको शव बागमती नगरपालिका – ११ स्थित बागमती पुलभन्दा करिब ४०–५० मिटर उत्तरतर्फ नदीमा उतानो परेको अवस्थामा फेला परेको हो ।

यस्तै, आइतबार दिउँसो करिब १ः३० बजे गणेश महतोको शव पनि बागमती पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ ड्याम साइडको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *