भारतमा गर्मीका कारण १६ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा बढ्दो गर्मीका कारण हिटस्ट्रोकबाट कम्तीमा १६ जनाको मृत्यु भएको छ। दक्षिणी राज्य तेलंगानामा गर्मीको लहर तीव्र बन्दै गएपछि जनस्वास्थ्यप्रति सतर्कता अपनाउन अधिकारीहरूले आग्रह गरेका छन् । अधिकारीहरूका अनुसार यस वर्षको गर्मीयाममा तापक्रम असामान्य रूपमा बढेको छ। भारतका विभिन्न शहरहरूमा पछिल्ला दिनहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

तेलंगानाका राजस्व मन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले गर्मीको प्रभाव ‘अभूतपूर्व’ रहेको बताएका छन्। उनले राज्यभर सतर्कता बढाउन र नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

स्वास्थ्य विज्ञहरूले अत्यधिक गर्मीले शरीरमा पानीको कमी गराउने, रगत बाक्लो बनाउने तथा गम्भीर अवस्थामा शरीरका अंगहरूले काम गर्न छाड्ने खतरा रहने बताएका छन्।

तेलंगाना सरकारले वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलालाई अत्यावश्यक कामबाहेक दिउँसो घरबाहिर ननिस्किन अनुरोध गरेको छ। यसअघि भारतको मौसम विभागले देशका विभिन्न भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र गर्मीको लहर रहने चेतावनी दिएको थियो।

राजधानी नयाँदिल्लीसहित आसपासका शहरहरूमा यस साताभर तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि कायम रहँदा विद्युत् खपत पनि रेकर्ड स्तरमा पुगेको छ। रातिको तापक्रमसमेत उच्च रहेकाले मानिसहरूले पर्याप्त राहत पाउन सकेका छैनन्।

जलवायु परिवर्तनका कारण गर्मीका लहरहरू अझ लामो, बारम्बार र तीव्र बन्दै गएको वैज्ञानिकहरूले बताएका छन् । विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने तेस्रो ठूलो देश हो। भारतले सन् २०७० सम्म नेट–शून्य उत्सर्जन अर्थतन्त्र हासिल गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *