बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता तय भइसकेको बताएका छन् । उनले सम्झौताका अन्तिम विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन् ।
ट्रम्पले उक्त सम्झौतामा होर्मुज नाका पुनः सञ्चालनमा ल्याउने विषय पनि समेटिएको उल्लेख गरेका छन् यद्यपि उनले थप विवरण भने खुलाएका छैनन् ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले यसअघि सरकारी टेलिभिजनसँग कुरा गर्दै पछिल्लो एक सातामा अमेरिका र इरानबीचको धारणा नजिकिँदै गएको बताएका थिए । तर उनले मुख्य मुद्दामा अझै सहमति भइनसकेको भन्दै अमेरिकी पक्षबाट ‘विरोधाभाषपूर्ण अभिव्यक्ति’ आएको आरोप लगाए ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेयिबा, यूएई, कतारलगायतका देशका नेतासँग ‘शान्तिसम्बन्धी समझदारी’ बारे सकारात्मक वार्ता भएको बताएका छन् ।
‘संयुक्त राज्य अमेरिका, इस्लामिक गणतन्त्र इरान तथा अन्य सम्बन्धित देशबीच अन्तिम रूप दिन बाँकी रहे पनि सम्झौता झन्डै तय भइसकेको छ,’ ट्रम्पले उल्लेख गरेका छन् ।
उनले सम्झौताका अन्तिम पक्ष र विवरणमाथि छलफल भइरहेको र छिट्टै सार्वजनिक गरिने बताएका छन् । ट्रम्पले शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग पनि फोन वार्ता भएको र त्यो ‘निकै राम्रो’ भएको बताएका छन् ।
यद्यपि ट्रम्पले सम्झौताबारे थप स्पष्ट जानकारी दिएका छैनन् । तर उनले कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्न ‘पूर्ण रूपमा रोक्ने’ दाबी गरेका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चर्किएको थियो । त्यसको जवाफमा इरानले इजरायल तथा अमेरिकी सहयोगी खाडी राष्ट्रमाथि आक्रमण गरेको थियो ।
