काठमाडाैँ । अमेरिकी कूटनीतिज्ञ माइक हार्कर सक्रिय अमेरिकी विदेश सेवा अधिकारीका रूपमा सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति बनेका छन् ।
नेपालस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले २० मेमा सफलतापूर्वक सगरमाथा आरोहण गर्दै सक्रिय अमेरिकी विदेश सेवा अधिकारीका रूपमा विश्वको सर्वोच्च शिखर चुम्ने पहिलो व्यक्ति बनेका हुन् ।
उनको यो उपलब्धिलाई कूटनीति र पर्वतारोहण दुवै क्षेत्रका लागि ऐतिहासिक सफलता मानिएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार हार्करको आरोहणले सन् २०२६ मा अमेरिकाले मनाउन लागेको स्वतन्त्रताको २५०औँ वर्षगाँठ “फ्रिडम २५०” को सन्दर्भमा अमेरिकी साहस, दृढता, धैर्यता र अन्वेषणको भावनालाई प्रतिनिधित्व गरेको छ ।
यद्यपि यो आरोहण उनले व्यक्तिगत रूपमा गरेका हुन्, हार्करको नेपालसँगको सम्बन्ध भने करिब दुई दशक पुरानो रहेको छ । उनले सन् २००६ मा अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि नेपाल र हिमाली क्षेत्रसँग गहिरो सम्बन्ध बनाएका थिए ।
दूतावासले सगरमाथा आरोहणलाई नेपाल–अमेरिका सम्बन्धको करिब ८० वर्ष लामो मित्रताको प्रतीकका रूपमा व्याख्या गरेको छ । साथै दिगो साहसिक पर्यटनले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन र स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।
दूतावासले विशेष रूपमा नेपाली शेर्पा समुदायको योगदानको प्रशंसा गर्दै उनीहरूलाई हिमाली पर्वतारोहणको मेरुदण्ड भनेको छ ।
“नेपाली शेर्पाहरूको साहस, दक्षता र समर्पणबिना यो सफलता सम्भव हुने थिएन,” दूतावासले भनेकाे छ, “सगरमाथाको संरक्षण गर्नु भविष्यका पुस्ताका लागि यो विश्व सम्पदालाई जोगाइराख्न तथा हिमाली समुदायलाई निरन्तर सहयोग पुर्याउन अत्यन्त आवश्यक छ।”
