काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । शनिबार दिउँसो भएको खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा एक विकेटको क्षतिमा १ सय ९९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन कुशल भुर्तेलले एकदिवसीयमा व्यक्तिगत दोस्रो सतक पूरा गरे । उनले १ सय १८ बल खेल्दै १३ चौका र ४ छक्काको मद्दतमा १ सय २० रन बनाए । उनले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटको लागि १ सय ४५ रनको साझेदारी गरे । आसिफले ७२ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाउँदै पभिलियन फर्किंदा डेब्यु खेल खेलेका इशान पाण्डे २० रनमा नटआउट रहे ।
अमेरिकाको लागि मोहम्मद मोहसिनले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । खेलमा उत्कृष्ट शुरुवात गरेको अमेरिका मध्यक्रममा लगातार विकेट गुमाउँदा ठुलो योगफल बनाउन असफल भएको हो । अमेरिकाको लागि स्मित पटेल र शेहन जयसूर्याले अर्धसतक बनाए ।
पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाउँदा जयसुरियाले ५२ बलमा ५ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए । यस्तै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि दीपेन्द्र सिंह एरीले ७.३ ओभरमा २४ रन दिएर चार विकेट लिँदा सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र गुलसन झाले समान एक/एक विकेट लिए ।
जितसँगै नेपाल २६ खेलबाट २० अंक जोड्दै अंकतालिकाको सातौँ स्थानमा रहेको छ । समान खेलबाट ३६ अंक जोडेको अमेरिका दोस्रो स्थानमा यथावत रहेको छ ।
