काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अमेरिकाविरुद्ध जारी खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा कुशलले एकदिवसीयमा व्यक्तिगत दोस्रो सतक पूरा गरेका हुन् ।
कुशलले १ सय ४ बलमा सतक पूरा गरेका हुन् । त्यसक्रममा उनले १२ चौका र ३ छक्का प्रहार गरे । ताजा अवस्थामा नेपालले ओभरको समाप्तिमा एक विकेटको क्षतिमा १ सय ६९ रन बनाएको छ । नेपालको लागि कुशल १ सय १ रन र इशान पाण्डे ९ रन बनाउँदै क्रिजमा छन् । यसअघि अर्का ओपनर आसिफ शेख ५८ रन बनाउँदै पभिलियन फर्किएका थिए । उनले ७२ बलमा ८ चौका प्रहार गरेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो । खेलमा उत्कृष्ट शुरुवात गरेको अमेरिका मध्यक्रममा लगातार विकेट गुमाउँदा ठुलो योगफल बनाउन असफल भएको हो । अमेरिकाको लागि स्मित पटेल र शेहन जयसूर्याले अर्धसतक बनाए । पटेलले ८९ बलमा ८ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ८३ रन बनाउँदा जयसुरियाले ५२ बलमा ५ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए । यस्तै मिलिन्द कुमारले २८ र हर्मित सिंहले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि दीपेन्द्र सिंह एरीले ७.३ ओभरमा २४ रन दिएर चार विकेट लिँदा सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र गुलसन झाले समान एक/एक विकेट लिए ।
