रोयटर्स । साउदी अरेबियाले मध्यपूर्व युद्धका क्रममा इरानमाथि गोप्य सैन्य आक्रमण गरेको खुलासा भएको छ । समाचार संस्था रोयटर्सका अनुसार साउदी भूमिमा भएका हमलाको प्रतिशोधस्वरूप साउदी वायुसेनाले मार्च अन्त्यतिर इरानभित्रै हमला गरेको हो ।
घटनाबारे जानकारी राख्ने दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीका अनुसार यी आक्रमण सार्वजनिक गरिएको थिएन। यसलाई साउदी अरेबियाले इरानविरुद्ध प्रत्यक्ष रूपमा गरेको पहिलो सैन्य कारबाही मानिएको छ।
एक पश्चिमी अधिकारीले ‘साउदीमाथि भएको हमलाको जवाफी कारबाही’ भएको बताएका छन्। तर आक्रमणको लक्ष्यबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। रोयटर्सले पनि स्वतन्त्र रूपमा लक्ष्य पुष्टि गर्न नसकेको जनाएको छ।
साउदी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले यसबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गरेका छन् भने इरानी विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
अमेरिकासँग निकट सैन्य सम्बन्ध राख्दै आएको साउदी अरेबियाले लामो समयदेखि सुरक्षाका लागि अमेरिकी सैन्य छातामाथि निर्भरता राख्दै आएको थियो। तर १० सातादेखि जारी युद्धका क्रममा अमेरिकी सुरक्षात्मक घेरासमेत कमजोर देखिएपछि साउदी आफैं प्रतिकारमा उत्रिएको विश्लेषण गरिएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई हमला गरेपछि सुरु भएको युद्ध क्रमशः खाडी क्षेत्रमा फैलिएको छ। त्यसयता इरानले खाडी सहयोग परिषदका सबै ६ सदस्य राष्ट्रमाथि मिसाइल र ड्रोन प्रहार गरेको आरोप छ।
इरानले अमेरिकी सैन्य अड्डासहित विमानस्थल, तेल पूर्वाधार र नागरिक क्षेत्रलाई निशाना बनाएको तथा हर्मुज जलडमरूमध्य बन्द गरेर विश्व व्यापारमा असर पुर्याएको उल्लेख गरिएको छ।
यसैबीच, वाल स्ट्रिट जर्नलले संयुक्त अरब इमिरेट्सले पनि इरानमाथि सैन्य आक्रमण गरेको जनाएको छ। यसले इरानी आक्रमणबाट प्रभावित खाडी राष्ट्रहरू प्रत्यक्ष प्रतिकारमा उत्रिएको संकेत गरेको विश्लेषण गरिएको छ।
