काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति बचाउ नागरिक अभियानले सरकारले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिलाई खारेज गरी अन्य निकायमा गाभ्ने तयारी गरेको भन्दै उक्त सिफारिस तत्काल फिर्ता लिन माग गरेको छ ।
अभियानले मंगलबार काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समितिमा पत्रकार सम्मेलन गर्दै गत चैत ३ गते सुशासन मार्गचित्र समितिले नेपाल सरकारसमक्ष समितिलाई खारेज गर्न गरेको सिफारिसप्रति गम्भीर आपत्ति जनाएको हो । अभियानले यस्तो निर्णयले बौद्ध धर्म, संस्कृति, सम्पदा तथा शिक्षामाथि प्रत्यक्ष असर पर्ने चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा अभियानका प्रवक्ता टेकराज तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको बौद्ध समुदायको एक मात्र आधिकारिक निकायलाई खारेज गर्ने सिफारिसले बौद्ध समुदायको पहिचान, गुम्बा व्यवस्थापन तथा वर्षौंदेखि सञ्चालन हुँदै आएका बौद्ध शिक्षा संरक्षण र प्रवर्द्धनका कार्यहरूमा नकारात्मक प्रभाव पार्ने बताए ।
उनका अनुसार समितिले गुम्बा तथा विहारमार्फत बौद्ध दर्शन, शील, समाधि, प्रज्ञा, आगम, अभिषेक, धर्मदेशना, पञ्चशील तथा आर्य अष्टाङ्गिक मार्गजस्ता शिक्षाहरू जनमानससम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
अभियानका संयोजक ध्रुवबहादुर गुरुङले समितिलाई खारेज गर्ने प्रस्तावले देशभर रहेका बौद्ध सम्पदा तथा बौद्ध शिक्षामा गम्भीर असर पर्ने बताएका छन् । उनले धार्मिक सहिष्णुतामाथि असर पर्ने खालको निर्णय सरकारले नगर्न आग्रह गर्दै समितिलाई अझ सुदृढ र प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने कुरामा जाेड दिए ।
नेपाल बौद्ध महासंघका अध्यक्ष गेशे नुरबु थुन्डु शेर्पाले धर्म, संस्कृति र सम्पदाको संरक्षण आवश्यक रहेको अवस्थामा सरकारले समिति खारेज गर्ने तथा सम्पदामाथि हस्तक्षेप गर्ने काम गरेको आरोप लगाए । उनले नेपाल बुद्ध जन्मिएको देश भएकाले बौद्ध शिक्षाको संरक्षण राज्यको प्राथमिकतामा पर्नुपर्ने धारणा राखे ।
पत्रकार सम्मेलनमा सहभागीहरूले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेका छन् । उनीहरूले सुशासन मार्गचित्र समितिको सिफारिस तत्काल फिर्ता लिन, बौद्ध समुदाय तथा सरोकारवालासँग परामर्श गरेर मात्र निर्णय लिन, बौद्ध दर्शन तथा संस्कृतिको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्न, समितिलाई अझ प्रभावकारी बनाउन कानुनी तथा प्रशासनिक सुधार गर्न तथा गुम्बा विकासका लागि छुट्टै सशक्त संरचना सुनिश्चित गर्न माग गरेका छन् ।
अभियानले नेपाल बुद्ध जन्मिएको देश भएकाले विश्वभर नेपाललाई बुद्धको भूमि भनेर चिनिने उल्लेख गर्दै हजारौं वर्षदेखि नेपालमा बौद्ध धर्मको अभ्यास हुँदै आएको जनाएको छ । विज्ञप्तिमा राजा अंशुवर्माकी छोरी भृकुटीले वज्रयानी बुद्ध मूर्ति तिब्बत पुर्याएको प्रसंग उल्लेख गर्दै नेपाल बौद्ध सभ्यता र दर्शनको उद्गमस्थल भएको दाबी गरिएको छ ।
अभियानका अनुसार गुम्बा विकास समितिमा दर्ता भएका ३ हजार ३६१ गुम्बामध्ये २ हजार ७२१ गुम्बा १०० वर्षभन्दा कम पुराना भएकाले ती संरचनाहरू पुरातत्व विभाग को संरक्षण दायराभित्र नपर्ने अवस्था रहेको छ ।
पत्रकार सम्मेलनमा वक्ताहरूले बुद्ध जयन्तीकै दिन गुम्बा भत्काइएको घटनाप्रति समेत आपत्ति जनाउँदै धर्मनिरपेक्ष राष्ट्रमा बौद्ध धर्ममाथि निरन्तर हस्तक्षेप भइरहेको आरोप लगाए ।
