काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहले सदनमा जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना भएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको नमुना भएको भन्दै के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘यो सरकार छ कि छैन ? प्रधानमन्त्री छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्छ कि पर्दैन ? संसदमा उभिएर सांसदहरुको प्रश्नको उत्तर नदिनु भनेको जनताका प्रश्नको उत्तर नदिनु हो भन्ने हुन्छ ? जनताको प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?’
जनताको जिउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ भन्दै प्रश्न गरे । उनले नीति तथा कार्यक्रम बन्दा प्रतिपक्ष दलसँग छलफल नगरी खाका बनाएर वाचन भएको भन्दै आपत्ति जनाए ।
