संविधान संशोधनको विषयलाई हल्का ढंगले नलिन सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले नलिन सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको बताएका हुन् ।

उनले भने,‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस् । संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग गर्दछ । कृपया यसलाई त्यही रुपमा आत्मसाथ गर्न सरकार र माननीय सदस्यहरूसँग आग्रह गर्दछु ।’

उनले ‘पुराना नेता’ र ‘पुराना पार्टी’ सबै उस्तै हुन् भन्ने भाष्य गलत रहेको बताए । उनले भने, ‘पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य बनाइएको छ । सबै उस्तै हुन् भन्ने भनाइमा प्रचण्डलाई पनि घिसार्ने प्रयास गरिन्छ । तर, त्यो सत्य होइन । सवाल पुराना र नयाँको होइन । सवाल सही र गलतको हो । पुराना र नयाँ भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन पैदा गर्छ । सही र गलतको बहसले मात्रै रूपान्तरणसहित नयाँ एकताको आधार निर्माण गर्न सक्छ ।’ उनले आफ्नो नेतृत्वको सरकारले सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवासको जग्गा हिनामिनासम्बन्धी प्रकरण, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तथा ठूला माफियाविरुद्ध कारबाही अघि बढाएको बताए ।

प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाए । उनले भने, ‘मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्तिप्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरूको जिम्मेवारी हो। सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू? पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *