स्कटल्याण्डद्वारा नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २ सय ४४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षति २ सय ४३ रन बनाएको हो । स्कटल्याण्डको लागि जर्ज मुन्सेले अर्धसतक बनाए । मुन्सेले ६२ बलमा १२ चौका र दुई छक्काको मद्दतमा ७५ रन बनाए । यस्तै फिन्ले म्याकक्रेथले ३५, मिकेल इंग्लिसले नटआउट ३४, मिकेल लिस्कले २९, मार्क वाटले २४ र म्याथेउ क्रसले १८ रन बनाए ।

नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा एक मेडन राख्दै ४१ रन दिएर ४ विकेट लिँदा करण केसी र नन्दन यादवको नाममा दुई/दुई विकेट रह्यो । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *