‘बधाई छ, रवि-एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा !’

काठमाडौँ । वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले प्रधानमन्त्री बालेन साहलाई सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार संसदमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री साह बैठक छाडेर हिँडेको घटना लज्जास्पद भएको भन्दै पाण्डेले कि प्रधानमन्त्रीलाई सचेत गराउन कि आफैँ राजीनामा दिन राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्,‘राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र साहले आज संसदमा जे–जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ । साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।’

त्यस्तै उनले घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक बालेनले ऐना देखाइदिएकोमा बधाई दिएका छन् । उनले भनेका छन्, ‘रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन्—रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन साह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन ।बधाई छ, प्रिय बालेन साह—घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि ? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो । बधाई छ, रवि— एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *