‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवर्धक रहेको आयोजनाले नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माण थालेको हो ।

आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईले पाँच किलोमिटर ५ सय मिटरमध्ये दुई किलोमिटर पहुँचमार्ग निर्माण सकिएको र कर्मचारी आवासका लागि भवन तयार भएको जानकारी दिए । ‘विद्युत् गृह निर्माणस्थलमा सडक पुर्‍याएर जमिन तयार पार्न पहाड काट्न थालेका छौँ,’ उनले भने, ‘पहुँचमार्ग खनेपछि बाँध, विद्युत् गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ ।’

एक अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाँधदेखि चार किलोमिटर २ सय मिटर दूरीमा पाइपलाइनबाट ल्याइने पानीलाई ४२० मिटर उचाइबाट विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने आवासीय इन्जिनियर भट्टराईले बताए ।

आयोजना निर्माणमा उपभोग हुने जग्गा सबै सार्वजनिक हो । निर्माण स्थलमा पर्ने एक हजार ४ सय मध्ये ५४६ रूख कटानको आदेश प्राप्त भइसकेको छ भने बाँकी प्रक्रियामा रहेको छ । ग्लोबल आइएमई र माछापुच्छ्रे बैंक लिमिटेडसँग वित्तीय स्रोत व्यवस्थापनका लागि प्रस्ताव गरिएको आयोजनाले जनाएको छ ।

कुल लागतको ७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपुँजी रहनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर लगानीको अवसर दिइने भएको छ । नारच्याङ भएर बग्ने नदीहरूमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एक वटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।

वडाअध्यक्ष लोकबहादुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् ।

नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना पनि निर्माणको तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *