लेबनानमा इजरायली आक्रमणमा परी एकैदिन ३९ जनाको मृत्यु

बीबीसी । लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणमा एकैदिन ३९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी क्षेत्र सक्साकियेहमाथिको आक्रमणमा एक बालिकासहित कम्तीमा सात जनाले ज्यान गुमाएका छन् ।

इजरायली रक्षा बल (आईडीएफ) ले भने हिजबुल्लाहका लडाकु र सैन्य संरचनालाई लक्षित गरेर कारबाही गरिएको जनाएको छ । सर्वसाधारणलाई क्षति पुगेको रिपोर्टबारे आफू जानकार रहेको पनि आईडीएफले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १६ अप्रिलमा इजरायल–लेबनान युद्धविराम घोषणा गरेपछि पनि दुवै पक्षबीच आक्रमण जारी छ ।

लेबनानको सरकारी समाचार संस्था एनएनएका अनुसार शनिबार दक्षिणी क्षेत्रमा श्रृंखलाबद्ध आक्रमण भएका थिए । स्वास्थ्य मन्त्रालयले सक्साकियेह आक्रमणमा तीन बालबालिकासहित १५ जना घाइते भएका जनाएको छ ।

नाबातियेह क्षेत्रमा मोटरसाइकललाई लक्षित अर्को आक्रमणमा एक सिरियाली नागरिकको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ड्रोनले एउटै परिवारलाई तीनपटकसम्म निशाना बनाएको थियो ।

उता हिजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार उक्त आक्रमणमा तीन सैनिक घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातामा मात्रै इजरायली आक्रमणमा महिला र बालबालिकासहित १२० भन्दा बढी मानिस मारिएका छन् ।

इजरायलले दक्षिणी लेबनानको केही भूभाग अझै नियन्त्रणमा राखेको छ । उत्तरी इजरायललाई सुरक्षित बनाउन ‘हिजबुल्लाहमुक्त सुरक्षा क्षेत्र’ बनाउने उद्देश्य रहेको इजरायली अधिकारीहरूले बताएका छन् । मार्चयता लेबनानमा जारी संघर्षमा २,७९५ जनाको मृत्यु भइसकेको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *