काठमाडौँ । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०६२’ सुरु भएको छ ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । यही २८ वैशाखसम्म चल्ने सो मेलाको यहाँस्थित विभिन्न देशका राजदूत र उद्योगी व्यवसायीहरूले संयुक्त रूपमा उद्घाटन गरे ।
इन्ट्रोडक्सन ट्रेड शोज नेपालको व्यवस्थापनमा सुरु उक्त मेला बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन व्युरोको सहकार्यमा सञ्चालन भएको हो । मेलालाई भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।
विभिन्न देशको ‘पेभिलियन’ राखिएको सो मेलामा सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन र व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने विश्वास राखिएको छ ।
प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोसाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय सवारीसाधनलगायतका सामग्री राखिएको मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
प्रदर्शनीले उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेताविक्रेताबीच सहकार्य विस्तार तथा विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई मजबुत बनाउने सघाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
