अष्ट्रेलियामा ७४ लाख डलर खर्च गरेर डिजिटल सुरक्षाका लागि नयाँ केन्द्र स्थापना

क्यानबेरा । अष्ट्रेलिया सरकारले अनलाइन हिंसात्मक र आतङ्कवाद नियन्त्रण गर्न करिब ७४ लाख अष्ट्रेलियन डलर खर्च गरेर नयाँ सुरक्षा केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

गृह मामिलामन्त्री टोनी बर्कले पत्रकार सम्मेलनमार्फत ‘काउन्टर टेररिज्म अनलाइन सेन्टर’ स्थापना गरिने जानकारी दिए । उक्त केन्द्रको नेतृत्व अष्ट्रेलियाको सुरक्षा निकाय र संघीय प्रहरीले संयुक्त रूपमा गर्नेछन् ।

मन्त्री बर्कका अनुसार, अनलाइन नयाँ कानुनअन्तर्गत हालसम्म ३१ वटा मुद्दा दर्ता गरिएको छ, जसमा १९ जना नाबालिग रहेका छन् ।

उनले युवाहरू छिटो अनलाइनमार्फत यस्तो गतिविधितर्फ आकर्षित भइरहेको अवस्था गम्भीर भएको बताउँदै सुरक्षा निकायहरूले सक्रिय रूपमा कारबाही गरिरहेको उल्लेख गरे ।

सङ्घीय प्रहरी प्रमुख क्रिसी बारेटका अनुसार उग्रवादी समूहहरूले प्रविधिको प्रयोग गरी कमजोर र संवेदनशील व्यक्तिहरूलाई तीव्र गतिमा प्रभावित गरिरहेका छन् । उनले प्रविधिको विकासले वास्तविक र भर्चुअल संसारबीचको सीमालाई धमिलो बनाएको र यसले समस्यालाई अझ जटिल बनाएको बताए ।

नयाँ केन्द्रमा अनुसन्धानकर्ता र गुप्तचर विश्लेषकहरूले मिलेर उच्च जोखिमयुक्त अनलाइन प्लेटफर्महरूको निगरानी गर्ने, सम्भावित खतरा मूल्याङ्कन गर्ने र गतिविधि रोक्न विभिन्न उपाय अपनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *