खुम्बु आइसफलमा फेला परेको शव काठमाडौं ल्याइयो

काठमाडौं । खुम्बु आइसफल क्षेत्रमा फेला परेको एक अज्ञात शव उद्धार गरी काठमाडौं ल्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभाग का अनुसार उक्त शवको उद्धार कार्य नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल पर्यटन बोर्ड, एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपाल (ईओए–नेपाल) तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा सम्पन्न गरिएको हो ।

नेपाल पर्वतारोहण संघ का अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार शव खुम्बु आइसफलबाट लुक्लासम्म झारिएको थियो र त्यसपछि एनएमएको व्यवस्थापनमा काठमाडौं ल्याइएको हो ।

उनका अनुसार आवश्यक कानुनी प्रक्रिया तथा कागजी काम पूरा गरी लुक्लामै पोस्टमार्टम गरिएको थियो। त्यसपछि हिजो (शनिबार) बिहान १०:३५ बजे अन्नपूर्ण हेलिकोप्टर मार्फत शव काठमाडौं ल्याइएको हो ।

हाल उक्त शव काठमाडौंस्थित टिचिङ अस्पताल मा राखिएको छ । डीएनए परीक्षण गरी यसअघि सगरमाथा क्षेत्रमा हराइरहेका आरोहीहरूको विवरणसँग मिलान गरिनेछ । त्यसका आधारमा मृतकको पहिचान गरी परिवारलाई जिम्मा लगाइने अध्यक्ष शेर्पाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *