अब हुने नियुक्ति पनि राजनीतिक नै होः प्रवक्ता चालिसे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,’ जारी गरेसँगै अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति खारेज हुने भएको छ । यसबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक नै हुने भएकोले अब हुने नियुक्ति पनि राजनीतिक नै हुने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत चालिसेले कार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकूल व्यक्ति खोज्नु अस्वाभाविक भन्न नमिल्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘दलको सरकारले गर्ने सवै नियुक्ति राजनीतिक हुन्छन् । अब हुने नियुक्ति पनि राजनीतिक नै हुन् । यसमा सरकार र सरकार सम्बद्ध पार्टीको केही प्रभाव र अनुकुलता हुन्छ नै । कार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकुल व्यक्ति खोज्नु अस्वाभाविक भन्न मिल्दैन । त्यसैले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयाँलाई सुधारको नाम दिने क्षणिक राजनीति नगरौँ ।’

उनले यहाँ निर्दलीय कोही नभएको र रास्वपा पनि दल नै भएकाले अब हुने नियुक्ति पनि दलीय नै हुने बताए । उनले भनेका छन्, ‘बरू सिधै भने हुन्छ सरकारले अहिले स्थापित गर्न खोजेको पद्दति To the victor belongs the spoils को नयाँ संस्करण हो । यही काम भोलि आउने हरेक सरकारले गर्यो भने असहमति राख्ने नैतिक आधार कसैको हुँदैन । अब यसले कानूनको रूप लिदैछ , हरेक नयकका सरकारलाई यो सुविधा प्राप्त हुनेछ । रास्वपा भित्र पनि पूर्व काग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका कैयन नेता र कार्यकर्ता छन् । अरू दलका पालामा भएका नियुक्तिलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टीभित्रका दलीयहरूको भविष्य के हुने हो ? सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ। यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य ? यहाँ निर्दलीय कोही छैन, रास्वपा पनि दल नै हो । मत दिनु र कार्यकर्ता हुनु फरक कुरा हो । व्यक्ति एक, नाता अनेक हुन्छ । कसैको छोरा अर्काको ज्वाइँ हुन सक्छ , त्यही व्यक्ति कसैको भान्जा हुन सक्छ । सबै ठाउँमा उसले आफ्नो भूमिका निभाएकै हुन्छ । समाजमा विचार र सोच नभएको मान्छे हुँदै हुँदैन । कसैले आस्था र विचार राखेकै आधारमा योग्यलाई पनि अयोग्य घोषणा गर्ने र यो स्तरमा घृणा र निन्दा गर्ने सस्कृतिले यो समाजलाई कहा पुर्याउँछ ? सत्य जहाँ भए पनि सत्य नै हुन्छ, आज होस् वा भोलि, यता होस् वा उता ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *